८ माघ, २०८१

सपना, संघर्ष र सफलता, यी शब्दहरू मेरो जीवनको महत्त्वपूर्ण अङ्ग बनेका छन् । २०४० सालको माघ ०८ गते सल्यानको दमाचौर गाउँमा जन्मिएको मैले जीवनका विभिन्न तहहरूमा ठूलो संघर्ष र चुनौतीको सामना गरेको छु । मेरा बाल्यकालका प्रारम्भिक वर्षहरू प्राकृतिक र कृषिकर्मी जीवनसँग जडित थिए । भैंसीको साथ मैले जंगलमा हुर्किएँ र यसले मलाई प्रकृति र जीवनका वास्तविक मूल्यहरूको बारेमा गहिरो बुझाइ दिन्छ । यस कठिन वातावरणमा हुर्कनुले मलाई जीवनका कच्चा र वास्तविक पक्षहरू बुझ्न र स्वीकार गर्न सघायो । जुन कुरा मैले यस अगाडी ८ माघ २०७८ मा https://tkc.com.np/category/लेखरचना मा पनि प्रस्तुत गरेको छु ।  यस लेखमा ४१ वर्षसम्मको जीवन यात्रामा थप भएका केही महत्वपूर्ण प्रेरणाहरू र अनुभवहरूलाई साझा गर्न चाहन्छु जसले मेरो सोच र कार्यशैलीलाई रूपान्तरण गरेको छ ।

शिक्षा र संघर्षको आरम्भ:

शिक्षा मेरो जीवनको एक महत्त्वपूर्ण अंश थियो । बचपनदेखि नै पढ्न लेख्नमा रुचि थियो। तर मेरा लागि स्कुल जाने यात्रा कहिल्यै सजिलो थिएन । ५ वर्षको उमेरमा स्कुल जान थालेपछि, मैले दिन प्रतिदिनका कठिनाइहरूको सामना गरें । बिहान बेलुका खेतमा काम, दैनिकीका शारीरिक थकान र मानसिक चुनौतीहरूको बीचमा, मेरो शिक्षा निरन्तर संघर्षको परिपाटीमा अघि बढ्दै गयो। विभिन्न घर परिवारका समस्याहरू र आर्थिक कठिनाइहरूले मेरो शिक्षालाई चुनौती दिइरहेका थिए । त्यतिबेला मैले एस.एल.सी. पास गरेको चिजलाई मात्र उपलब्धि मान्न थालें । जव एस.एल.सी. पास गरेपछि मैले थाहा पाएँ कि शिक्षा मात्र मेरो जीवनका विभिन्न निर्णयहरूमा सहायक बन्न सक्छ । यसले मलाई कडा संघर्ष र परिश्रमको मूल्य सिकायो र मेरो भविष्यका लक्ष्यहरूमा नयाँ मार्गदर्शन दिएको थियो ।  मैले शिक्षा र यसको महत्त्वलाई सधैं आफ्ना जीवनका मूल आधारका रूपमा लिएको छु । सधैं केही नयाँ सिक्ने लालसा र आत्म-साक्षात्कारको खोजीले म लाई Rural Development (RD) मा मास्टर्स डिग्री प्राप्त गर्न प्रेरित गर्यो । यद्यपि मैले परिश्रम र संघर्ष गरेर एक शिक्षा हासिल गरेको थिए । अर्को तिर मैले बच्चामा Science पढ्ने सोचलाई यस अवस्थामा पुरा गर्न Science मा +2 पनि पढि रहेको थिए । परिक्षा एकै समयमा भएकोले पहिलो प्राथमिकता Masters को परिक्षालाई दिनु पर्ने भएकोले फेरी पनि मेरो  Science पढ्ने हुटहुटीलाई अवरोध गरेको थियो । मैले महशुस गरे कि जीवनमा साँचो सिकाइ तब मात्र हुन्छ जब हामी निरन्तर बढ्दै जान्छौं र सधैं नयाँ ज्ञानका लागि खुला रहन्छौं । यही कारणले गर्दा म अहिले +२ विज्ञान पढ्नका लागि पुन: फर्किएको छु । जीवनले मलाई बच्चा बनेर स्कुल पढ्न जाने मौका दिएको छ, जहाँ म अझै नयाँ ज्ञान प्राप्त गर्न र यो संसारको विविधता बुझ्न चाहन्छु । मैले सिकेको कुरा यतिमात्र हो कि “संसारमा केहि नजानेको र सबै जानेको कोहि हुँदैन“ । हरेक दिन, हरेक पलको अनुभवमा नयाँ कुरा सिक्न सकिन्छ ।

करियरको आरम्भ:

मेरो यात्रा तब नयाँ दिशा मोड्न थाल्यो जब मैले कम्प्युटरका आधारभूत सीपहरू सिक्न सुरु गरें। नेपालगञ्जको स्काईल्याण्ड कम्प्युटर इन्स्टिच्युटमा नाम लेखाउने निर्णयले मेरो भविष्यलाई नयाँ ढंगले उज्यालो बनायो । कम्प्युटरका ज्ञानसँगै मैले आफ्नो पेशागत जीवनको आरम्भ गर्दै पहिलो पत्रिका कम्पनीमा डिजाइनरको रूपमा काम गर्न थालें । यहाँ मैले समय व्यवस्थापन, सहकार्य र सिर्जनात्मकता जस्ता गुणहरू सिकें जसले मेरो व्यक्तित्व र काम गर्ने तरिका परिष्कृत बनायो । पेशामा रमाइलो र चुनौतीपूर्ण अनुभवहरूको सँगसँगै, मैले मेरो क्षेत्रमा कडा प्रतिस्पर्धा र मेहनतको मूल्य पनि बुझें। समय र परिश्रमको सही उपयोगले मलाई आत्मविश्वासको एक नयाँ स्तम्भ प्रदान गर्यो । जीवनमा सफलता केवल सोचेको र योजना बनाएको अनुसार आउँदैन । यथार्थमा, सफलता धेरै हदसम्म संघर्ष र त्यागको परिणाम हो। मेरो करियरको आरम्भदेखि नै मैले कठिनाइहरूको सामना गरेँ— समय, स्रोत र विचारको घेराबन्दी । त्यतिबेला मैले कसम खाएको थिएँ कि केहि पनि सजिलो हुँदैन र कुनैपनि सफलता बिना मेहनत र बलिदानको सम्भव छैन । असफलताका समयमा, मैले सिकेको थियो कि आत्मबल र आशाले नै अर्को कदम उठाउन प्रेरित गर्छ । कठिनाइलाई अवसरमा रूपान्तरण गर्दै, मैले जीवनलाई फरक दृष्टिकोणबाट हेर्न सुरु गरें । मेरो संघर्ष र मेहनतले मलाई आफ्नो लक्ष्मणरेखा निर्धारण गर्न सघायो। यसले मलाई सबैभन्दा महत्त्वपूर्ण कुरा सिकायो—असफलता पनि सफलता प्राप्तिको एउटा अनिवार्य भाग हो ।

यात्रा र आत्मसाक्षात्कार:

मेरो जीवनको ४१ वर्षमा ठूलो मोड तब आयो, जब मैले सिंगापुर, मलेसिया, मुक्तिनाथ, पोखरा र लुम्बिनी जस्ता ऐतिहासिक र धार्मिक स्थलहरूको भ्रमण गर्ने अवसर पाएँ । यि यात्रा र
स्थलहरूले मेरो जीवनमा नयाँ दृष्टिकोण र गहिरो आत्मसाक्षात्कार ल्याएका छन् । यि यात्रामा, मैले संसारको विविधता र अनगिन्ती संस्कृतिका बारेमा बुझ्न थालेँ। सिंगापुरको भव्यता र अत्याधुनिक प्रविधिको सँगसँगै, मलेसियाको सांस्कृतिक समृद्धि र ऐतिहासिक महत्त्वले मेरो सोचमा निकै परिवर्तन ल्यायो । मैले अनुभव गरेँ कि समृद्धि केवल भौतिक दृष्टिकोणबाट मात्र आउँदैन । समाज र संस्कृतिको गहिरो अध्ययनले मेरो जीवनमा शान्तिको महत्त्वलाई उजागर गर्यो । त्यस्तै मुक्तिनाथ र पोखरामा धार्मिक अनुभवले, मुक्तिनाथमा पुग्दा मैले त्यहाँको पवित्रता र शान्ति अनुभव गरेँ । मुक्तिनाथको दिव्य वातावरणले मलाई धार्मिकता र आन्तरिक शान्तिको महत्त्वलाई नयाँ रूपमा बुझायो । पोखराको ताल र हिमालहरूको सौन्दर्यले मेरो जीवनको धारा नै बदलिदियो । मसँगै यात्रा गर्ने साथीहरूले मलाई यो सोच्न बाध्य पारे कि जीवनको वास्तविक अर्थ भनेको केवल भौतिक सुख र ऐश्वर्यमा नभएर, आन्तरिक शान्ति र मानवीय संवेदनामा पनि छ । लुम्बिनीको भ्रमणले भने, मलाई सम्झायो कि जीवनको साँचो उद्देश्य भनेको केवल आफ्नो खुशी होइन, सम्पूर्ण मानवता र शान्तिका लागि प्रयास गर्नु हो ।

सफलता र यसको वास्तविकता:

सफलता भन्नाले केवल धन र नाम कमाउने कुरा होइन, यो जीवनको समग्र उद्देश्यको सन्तुलन हो। जीवनमा सफलता प्राप्त गर्नका लागि बाह्य परिस्थितिहरूको मात्र होइन, आन्तरिक गुणहरू—जस्तै इमानदारी, परिश्रम र सहयोगको भावना पनि महत्त्वपूर्ण छ। सफलता बाहिरका उपलब्धिहरूमा मात्र सीमित हुँदैन, यसका शाश्वत मूल्यहरू हुन्छन् जसले जीवनलाई थप अर्थपूर्ण र समृद्ध बनाउँछन्। मैले सिकेको कुरा यो हो कि वास्तविक सफलता भनेको त्यति मात्र होइन, यो आन्तरिक शान्ति र आत्मसाक्षात्कारको परिपूर्णता हो। जसमा परिवार र मित्रहरूको भूमिकाले मलाई यो पनि थाहा भएको छ कि साँचो सफलता केवल व्यक्तिगत प्रयाससँग मात्र सन्दर्भित हुँदैन। तपाईंको परिवार, साथी र समाजका अन्य सदस्यहरूको साथ र सहयोग पनि यसका महत्त्वपूर्ण अङ्गहरू हुन् । जीवनका यि ४१ वर्षको समयमा, मैले सँगै यात्रा गरेका साथीहरू र परिवारको साथ पाएको धेरै मूल्यवान अनुभवको महत्त्व बुझें । उनीहरूको समर्थनले मेरो जीवनको हर कदममा मद्दत पुर्याएको छ । जीवनका कठिन समयहरूमा परिवार र मित्रहरूको साथ नै थियो जसले मलाई सफलताका कसमहरू पार गर्न प्रोत्साहित गरेको छ । साथै, म सबैको माया र सहयोगमा जीवनको अनेकौं भाग्यको कदर गर्न शिर झुकाउन चाहन्छु । मेरो जीवनमा उत्साहजनक मोड त्यो समय थियो जब मैले निर्वाचन आयोग नेपालबाट उत्कृष्ट कर्मचारीको रुपमा नगद पुरस्कार सहित सम्माणपत्र प्राप्त गरे जसले मेरो कार्यकुशलता र योगदानको मूल्यांकन गरेको थियो । यस पुरस्कारले मेरो परिश्रम र जिम्मेवारीपूर्ण कामको मान्यता दियो र मेरो आत्मविश्वासमा थप वृद्धी गर्‍यो। यस सम्मानले मलाई यो कुरा सम्झायो कि जब तपाईं आफ्नो काममा इमानदार र समर्पित हुनुहुन्छ भने, तपाईंका प्रयासहरूले एक दिन मान्यता पाउँछन्। यस पुरस्कारले मेरो प्रेरणालाई अझ बलियो बनायो र म भविष्यमा अझ उच्च लक्ष्यहरूको पीछा गर्न उत्साहित भएँ । त्यसैगरी, कम्प्युटर एसोसियसन अफ नेपाल जिल्ला शाखा सल्यानबाट संस्थापक अध्यक्षको रूपमा मेरो योगदानको कदर गर्दै मलाई कदर पत्र सहित सम्मानित गरिएको थियो । यस सम्मानले पनि मलाई यस क्षेत्रमा गरेको मेरो प्रयास र योगदानको मूल्यांकन गरेको महशुस भयो र यसले मेरो कार्यप्रति थप जिम्मेवारी र प्रेरणा दिएको छ । त्यस्तै एमट्रेड, प्लानेट इन्फोसि आदि जस्ता ब्यापार साझेदारहरुको माया पनि त्यति नै प्रेरणाको श्रोत हुन । म यस्ता सम्मान सबैको समर्थन र सहयोगमा स्वीकार गर्दै, भविष्यमा अझ उत्कृष्ट कार्य गर्ने संकल्प गर्दै अगाडि बढ्न चाहन्छु ।

जीवनको अन्तिम मूल्य:

४१ वर्षको जीवनमा पुगेपछि, मैले एउटा कुरा बुझें: जीवनमा साँचो सफलता भनेको बाह्य संसारमा जित्नु मात्र होइन, आन्तरिक संसारमा पनि जित्नु हो । यो जित मात्र तपाईंको प्रयास, आत्मविश्वास र मानवीय मूल्यहरूसँग सम्भव हुन्छ। तपाईंको मानसिक शान्ति, इमानदारी र सकारात्मक सोचसँगै जीवनका सबै चुनौतीहरूलाई सहजता र सफलता साथ सामना गर्न सकिन्छ । आज म ४२ वर्षको उमेरमा प्रवेश गर्दैछु र यी सबै ४१ वर्षका अनुभवले मेरो जीवनलाई अर्थपूर्ण र समृद्ध बनाएको छ । म जीवनका प्रत्येक पलको कदर गर्दै भविष्यका मार्गमा यात्रा गर्न तयार छु । “संसारमा केहि नजानेको र सबै जानेको कोहि हुदैन ।” यो भनाइले जीवनका हरेक अवसर र चुनौतीलाई स्वीकार गर्ने हिम्मत दिन्छ। हामी सबैले जीवनका विभिन्न अनुभवबाट सिक्न र बढी बुझ्न आवश्यक छ । यति हुँदा मात्र हामी हाम्रो जीवनको वास्तविक अर्थ पाउन सक्छौं भन्ने लाग्छ म लाई ………………..

धन्यवाद !

यो जीवनमा म भनेर चिन्न सिकाउनु हुने सबैमा नमन: जीवनका भोगाई सहितको अर्को भेट २०८२ माघ ८ गते ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *