७ भाद्र, २०८२

मेरो जन्म सल्यानको दमाचौर गाउँमा भएको थियो। मेरो बाल्यकाल सरल, तर चुनौतीपूर्ण वातावरणमा बित्यो। गाउँघरमा बिजुली थिएन, बाटो धुलोले भरिएको थियो, तर मानिसहरूको अपनत्व र सहयोग अत्यन्त थियो। बुबाले बिहान सबेरै उठेर खेतबारीको काम गर्नुहुन्थ्यो र हामीलाई पढ्न प्रेरित गर्नुहुन्थ्यो। आमा घर र खेतको काम सँगै हाम्रो पालनपोषणमा जुट्नुहुन्थ्यो। मैले बाल्यकालमै जीवनको कठिनाइ र संघर्ष बुझें। मैले भैंसी चराउन जान्दा होस् वा घाँसकाटनमा बुबाले सधैं साथ दिनुहुन्थ्यो । पैसाको अभाव हुँदा पनि विद्यालय र उच्च शिक्षा पठाउने निर्णय उहाँले लिनुभयो । ३ घण्टा टाढाको कालिका मा.बि., कोटमौलाको स्कूल जाने क्रममा धेरैपटक थकान महसुस गर्दा पनि बुवाले भन्नुहुन्थ्यो “बाबु, म तिम्रो साथ छु, कहिल्यै हार नमान।” यही साथले मलाई शिक्षा, आत्मविश्वास र जीवन दृष्टि दियो ।

देशमा द्वन्द उच्च रुप लिदै थियो, बिहान विध्यालय पठाएको छोराहरु साँझ घर फर्कन छन वा फर्कदैन  यस्तो परिस्थिति बिचको SLC सम्मको यात्रा चुनौतीपूर्ण थियो। बिहान खेतमा काम, दिउँसो पढाइ, बेलुकी गृहकार्य गर्नु मेरो दैनिकी थियो। शिक्षकसँग तुलना गर्दा अभाव र कम संसाधनको अवस्था थियो। धेरैपटक हार महसुस गर्दा पनि बुवाको सल्लाह र मार्गदर्शनले म अघि बढ्न सकें। +2 र मास्टर्सका दिनहरूमा पैसा अभाव, अतिरिक्त काम र परीक्षा तयारी चुनौती थिए। बुवाले भन्नुहुन्थ्यो “अवसर खोज, म तिम्रो साथ छु, संघर्षको साथ परिणाम राम्रो आउँछ।” यही मार्गदर्शनले मैले पेशागत यात्रा सुरु गर्न सकें।

आजको मेरो सरलपन र कडा मेहेनत, अनुशासन, समयको मूल्य र सहकर्मीहरूसँगको व्यवहार बुवाले सिकाएको पाठबाट आएको हो। आजको समयमा सामाजिक सञ्जालमा मात्र शुभकामना दिनु पर्याप्त छैन। वृद्धा आमाबुबालाई व्यवहारिक माया देखाउनु जरुरी छ। केवल फोटो पोष्ट गर्नु वा शब्दमा शुभकामना दिनु होइन, वास्तविक जीवनमा साथ दिनु, कुरा सुन्नु, ध्यान दिनु नै वास्तविक माया हो। बुबाले जीवनभर यही पाठ सिकाउनुभयो।

मेरो जीवनको प्रत्येक उपलब्धि, यात्रा, संघर्ष र शिक्षा बुवाको मार्गदर्शनको परिणाम हो। केवल सामाजिक सञ्जाल मैत्रीले होइन, वास्तविक जीवनमा माया र सम्मानले परिवार र समाज बलियो हुन्छ। बुबा–आमालाई माया गर्नुहोस्, वृद्धावस्थामा नछोड्नुहोस्, व्यवहारमा माया देखाउनुहोस्

Spread the love
Tagged With:

Leave a Reply

Your email address will not be published. Required fields are marked *