८ माघ २०७८

बुवा खगेन्द्र प्रकाश चन्द र मुवा स्व. मन कुमारी चन्दको कोखबाट ५ औं सन्तानको रुपमा २०४० साल माघ ८ गते साँझ करिव ५ बजे सल्यान जिल्ला साविक दमाचौर गाविस वडा नं. ३ हाल परिवर्तित छत्रेश्वरी गाउँपालिका वडा नं. १ फारुलीबोटमा भएको हो ।

बुवाहरु ३ भाई होइसिन्थ्यो। ठुलोबुवा स्व.जगत बहादुर चन्द बाँके जिल्लाको शान्तिपुरमा कृर्षि पेशामा र  माइलोबुवा तुल बहादुर चन्द रुकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिकामा ब्यवसाय गरेर बसिसिन्थ्यो भने मेरो बुवा कान्छो भएकोले पनि होला पुर्खेउली घर दमाचौरमा नै कृर्षि पेशा गरेर बसिसिन्थ्यो। जग्गा जमिन धेरै थियो भने ७ वटा सम्म भैंसीहरु हुने गर्दथे । दमाचौरमा भैंसीलाई घाँसको अभाव हुने भएकोले बस्तुभाउ पाल्न सहज हुने हिसावले सल्यान जिल्लाकै अग्लो लेख जथाग नजिक रोल्पा जिल्लाको सालिमे भन्ने ठाउँमा लग्ने गरिन्थ्यो रे ।  जहाँ अस्थाई रुपमा केही महिनाका लागी सेतारे भन्ने रुखका स्याउलाले बारेको गोठमा बस्ने प्रचलन रहेछ ।

जुन गोठमा घाम–पानी र जाडोको त के कुरा गर्नु !  त्यसैमा न्यानो कपडा पनि नभएकोले बुवाको च्यातिएको कोटमा लपेटेर घाँसकाट्ने रुखको नजिक दिन भर सुताउदै मुवाले भैंसीलाई ७-८ भारी घाँस काट्नु पर्ने, रातभर आकासका तारा देखिने स्याउलाको गोठमा ४ महनाको बच्चाको अवस्था के भयो होला त्यो आजका दिनमा कल्पना बाहिरको कुरा हो ।

यसरी बुवा मुवाहरुले चिसोठाउँमा दु:खमा हुर्काएकोले पनि हुन सक्छ मेरो शरिरमा आजका दिनसम्म पनि चिसोको एलर्जी रहेको छ । मैले थाहा पाउने अवस्थामा पनि २०५० साल देखी २०५६ साल सम्म धेरै जसो बिहान ४ बजे उठेर लसुनेको जंगलमा गएर मुवा-बुवासँग–सँगै दाउरा ल्याउन जाने गरिन्थ्यो । लसुनेको जंगलमा पौष-माघको चिसोले बाटोभरी तुसारो ठक्क–ठक्क परेर जमेको हुने गर्दथ्यो । कहिलेकाँही तेही तुसारोमा चिप्लिएर लड्दा जाडोले कठ्याङ्गरिएका हातखुट्टामा यति धेरै चोट लाग्ने गर्थ्यो । दाउरा लिएर बिहान ७ देखि ८ बजे सम्म घर पुगिन्थ्यो । जंगलबाट हाम्रो घरसम्म पुग्दा गाउँमा अरु धेरै घरहरु पर्दथे ति घरमा मकैका खाजा भुट्दै गरेको बासना नाखसम्म पुग्दा मागौ-मागौ जस्तो लागे पनि मागन सक्दैन थिए । कहिले काँही दाउराको भारीले च्याप्दा छोटो बाटो पनि धेरै लामो भएको जस्तो भान हुन्थ्यो । घरमा पुग्दा मकैका खाजा वा साँझ बचेका मकैका रोटी हुन्थिए । जुन कुराले पेट भरेर दिउसोको खाना पकाउने काम शुरु गर्नु पर्दथ्यो । किनकी मुवा स्याउला लिएर आए पछि गाई भैंसीलाई घाँस काट्न जानु पर्दथ्यो र बुवा अन्य काममा । म र मेरो कान्छो भाई रुपक चन्दले मिलेर खाना पकाएर खाना खाने अनि स्कुल जाने गर्द थियौं। यही निरन्तरतामा ६ कलास सम्म त भानुभक्त मा.बि. दमाचौरमा पढियो ।

त्यस पछी मेरो जेठो दाजु अर्जुन कुमार चन्द नेपालगंज बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाण पत्र तहको पठाई पछि कालिका मा.बि. कोटमौलामा बिज्ञानको शिक्षक भए पछि मलाई पनि त्यही स्कुलमा ६ कक्षाबाट ८ कक्षामा कलास अपग्रेड गरेर भर्ना गर्दिसियो । त्यति खेर नै हो तेजेन्द्र कुमार चन्द नामको जन्म । त्यस पछि झनै दु:खका दिन शुरु भए ।

बिहानै बाख्रालाई घाँसकाटेर खाना पकाइ खाएर ढिलामा ७:३० बजे दमाचौरबाट हिड्नु पर्ने १०:०० कोटमौला स्कुल पुग्न । साँझ स्कुल बिदा भए पछि कालिका मा.बि. नजिकैको सिम्तालको पसलबाट २ रुपैयाँको १ काँचको गिलास चिउरा र १ रुपैयाँको भेली किनेर खादै दमाचौर तिरको यात्रा तय गरिन्थियो । सधैं पैसा हुदैन थियो, कहिलेकाँही त भोकै नै हिड्ने गरिन्थ्यो । एक दिनको कहानी छ मैले घरबाट बिहान पकाएको मकैको रोटी र हरियो नुन खुर्सानीको चटनी बोकेर लगे र सिन्दुरेको लामाचौर जुन स्कुल र घरको बिच भागमा पर्दथ्यो । त्यहाँ खरको बुटामा लुकाएर राखेर स्कुल गए साँझ फर्कदा खाने आशामा छिटो-छिटो त्यस ठाउँमा आउदा दिउसो गाईगोरुहरुले खाई दिए छन् । रोटी राखेको प्लाष्टिक मात्र त्यस ठाउँमा थियो । त्यो देखे पछिको भोक मेरो जीवनको पहिलो भोक नै होला सायद त्यस पछि खानीकाटेमा आएर अमेलो बोक्रा खाँदै घर फर्केको थिए। कोटमौला दरबार चुर्ण बहादुर चन्दको श्रीमती मेरो मुवाको भतिजीको घर भएकोले कहिलेकाँही धेरै गाह्रो भएको समयमा तेही दिजुको घरमा बसिन्थ्यो । १ वर्षे पढाइका क्रममा उहाँहरुको सहयोग पनि धेरै रह्यो ।

१ वर्ष कालिका मा.वि. कोटमौलाको पढाई पछि पुन: भानुभक्त मावि दमाचौर मै कक्षा ९ मा भर्ना भइयो । पछिका दिनमा राम्रो बिषय पढ्नलाई सहयोग हुने दाजुको सल्लाहमा ९ र १० कलासमा Opt. Math लगेर पढियो । कक्षामा धेरै विद्यार्थी भए पनि हामी ६ जना मात्र थियौं Opt. Math लगेर पढ्ने त्यस मध्येका प्रथम विद्यार्थी राजेन्द्र बाबु चन्द, जुन अहिले काठमाण्डौंमा इन्जिनियरिङ्ग कजेल चलाउदै छन्, दितीय हुन आत्मदेव शर्मा जुन अहिले सिदार्थ होटेल टिकापुरका म्यानेजर छन्, अरु धेरैसाथीहरु भए पनि खासै सम्पर्क छैन। हाम्रो ब्याचका धेरैले राम्रो गर्नु भएको छ तर मैले त्यती राम्रो स्तरमा पढाई सकिन मध्यम स्तरबाट नै पढाई अगाडी बढ्यो । किनकी म दाजुको निगरानी भन्दा बाहिर र साथीहरुको लहलहैमा रमाउन थालि सकेको थिए । साथीभाई जम्मा हुने कालापाहाड गएर पैसा कमाउने कुरा त कहिले बाँसको घारीमा बास बसेका चराहरु मार्न जाने, राती-राती नाँच हेर्न जाने जसमा अहिलेका चर्चित लोक गाएक नेत्र भण्डारी पनि मेरा एक अति मिल्ने साथी थिए । गाउँघरमा मकैको नल्ठाको घारीमुनी लुकेर ख्वारख्वारे, जुट खेल्ने, क्यारिम बोर्ड बाजी खेल्ने जस्ता बालापनका नराम्रा गतिबिधिमा पनि म कहिले काँही सरिक हुने गर्द्थे । जव २०५६ सालको SLC परिक्षा आयो मलाई अंग्रेजी बिषय लाग्यो । मौका परिक्षा दिएर पास गरियो ।

त्यस पछिको यात्रा नेपालगञ्ज तर्फ मोडियो । कलेज शुरु भएको थिएन । खाली समयमा त्यतिकै बस्न हुन्न भनेर सुर्खेतरोडमा अवस्थित लोकेन्द्र बहादुर चन्दको स्काईल्याण्ड कम्प्यूटर इन्स्टिच्यूटमा पहिलो दिन कम्प्यूटर सिक्न गइयो । त्यहाँ बिनिता मिसले कलास लिनु हुन्थियो । उहाँले Typing  गर्न सिकाउनलाई जव किवोर्डमा हात राख्दिनु भयो । म डराएर झाँक्री झै काँप्न थाले । सिक्न सक्दिन भनेर भागे पनि दाजुको डरले फेरी अर्को दिन डराइ डराई गए तर आज मेरो जीवन निर्वाहको स्रोत नै त्यही पेशा बनेको छ । बिनिता मिस उहाँ जहाँ भए पनि सम्झ्को छु ।

कलेजको पढाई शुरु भयो त्यसपछि भेरी प्राविधिक शिक्षालयमा सेक्रेटरीयल कोर्षको पढाई शुरु गरियो । कलेजको पढाईसँगै बाहिर इन्स्टिच्युटमा पनि निरन्तर कम्प्यूटरका बिभिन्न कोर्ष गर्दै गरियो । १८ महिनाको सेक्रेटरियल कोर्ष पढाई सकिएर ओजेटीमा जान मात्र २ दिन बाँकी थियो । जति खेर माओवादीको आरोमा जमुना चौकीमा ४ थुनामा परियो । जसमा म लगायत दाङ्ग गोलटाकुरी निवासी मेरा आफन्त जनक शाह, एम.एन. शाह र दमाचौर पलाटेका सिताराम चन्द थियौ । त्यो समय सायद पौषको २७ वा २८ गते थियो होला। चिसोमा सुतिरहेका थियौ । त्यहाँ रातीको डिउटीमा खटिएका १ जना प्रहरी जवानले आएर पंखा लगाएर सताएको, आजको दिन अन्तिम हुन सक्छ राम्रो सँग खाना खाउ केटा हो भन्दै दिएको मानसिक तनाव पनि यादकर छ ।

जसरी भए पनि नेपालगञ्जको बसाईलाई लामो गर्नु थियो तर घरबाट बुवासँग पैसा नमागेर । किनकी हामीलाई पढाउदा नै धेरै ऋण लागि सकेको थियो । गाउँमा अव हाम्रो परिवार ऋणले डुवेको भन्दै कुरा काट्न शुरु भै सकेको थियो । पढाका समयमा सधै आर्थिक अभाव नै व्यहोर्नु पर्यो । कहिले तरकारी किन्ने पैसा नहुदा पकाकेको भात कै तरकारी पकाएर खाएको त खान पकाउने स्टोपको पिन किन्ने पैसा समेत पैसा नहुदा रुद भोकै बसेको याद पनि ३८ औं बसन्त पार गर्दै गर्दा जिवनको १ भोगाई नै हो । 

यही बाध्यतालाई थोरै भए पनि सहज गर्न शुरुमा कम्प्यूटरमा हात बसालेको स्काईल्याण्ड कम्प्यूटर इन्स्टिच्युटमा प्रशिक्षकको रुपमा र नयाँ संरचना राष्ट्रिय दैनिकमा डिजाइनरको रुपमा काम गर्दै महेन्द्र बहुमुखी क्याम्पसको पढाई अगाडी बढउने निर्णय गरियो । स्काईल्याण्ड कम्प्यूटर इन्स्टिच्युट जिल्ला शिक्षा नजिक सुर्खेतरोडमा थियो भने नयाँ संरचना राष्ट्रिय दैनिकको कार्यालय पुष्पलालचोक र धम्बोजी नजिक थियो । बिहान ५ बजे देखि कलास थियो । नेपालगंजमा अत्याधिक चिसो भए पनि हात कपाउदै पढाउनु जानु पर्दथ्यो । दिनभर कलास लगेर साँझ फेरी पत्रिकाको डिजाइनका लागी पुष्पलालचोक नयाँ संरचनाको अफिस तर्फ लागिन्थ्यो। भित्री पृष्ठका लेख, रचनाहरु त दिउसोमा तयार भएका भए पनि बिज्ञापन र बाहिरी पृष्ठको डिजाइनको जिम्मेवारी मेरो थियो । म सँगै रातभर न्युज डेस्कमा काम गर्ने पत्रकार मित्र हुनु हुन्थ्यो उहाँको नाम भुले सायद हिमाल शर्मा जस्तो लाग्दछ । जब फ्रन्ट पेज तयारी अवस्थामा हुन्थियो तब राती १२ बजे तिर गोपीदाईको फोन आउथियो । पहिलो पृष्ठखाली राख है धमाकेदार न्युज आउदै छ । प्राय जसो न्युज डेस्कको टेबलमा सुताइ भयो भने कहिले काही त २ बजे तिर पिलेट निकालेर न्यूरोडमा अफसेट प्रेसलाई छोडेर तेहीबाट बिहान ५ बजेको कलास चलाउन बिग्रिएका कम्प्यूटर बनाउन इनिस्टिच्युट तर्फ पनि हिडियो । सायद २४ घण्टामा १८–२० घण्टा त काम गरियो होला । यति धेरै दु:ख र घरको सहयोगमा इन्स्टिच्यूटको प्रशिक्षकबाट मालिक त भइयो तर नेपालगञ्जको सहरमा व्यापार गर्न धेरै लगानी गर्नु पर्ने । लगानीको अभावमा उक्त इन्स्टिच्युटबाट धेरै ज्ञान लिए पनि त्यती धेरै आर्थिक लाभ भने लिन सकिएन ।

यस्तै क्रममा एक दिनको कुरा हो । म घरबाट नेपालगञ्ज जान भनेर हिडेको थिए । नेपालगञ्जका लागी बस श्रीनगरबाट छुट्दथ्यो । २०५६ सालको एसएलसी मौका परिक्षा दिन खलंगा आउदा दमाचौर रोल्पा नजिक घर भएका कारण द्वन्दकालमा २/३ पटक सम्म जिल्ला प्रहरी चौकी सम्म पुर्याइएको यादले पोलेको थियो । युद्ध बिराम भएकोले खलंगा बजार कस्तो भएको होला १ पटक हेरौन भन्ने रहर जागेर श्रीनगर स्थित सगरमाथा होटलमा ब्याग राखेर जिल्ला सदरमुकाम खलंगाको डाँडो तिर उक्लिएको व्यक्ति बीर बहादुर वली दाईका कारण यही अल्मलिए । उहाँसँगै उहाँकै कोठामा बसे सल्यान खलंगामा पनि धेरै नै  संघर्ष गर्नु पर्यो । शारदा नेपालको जागिर, सानु आइटी सोलुशनको व्यवसयिक सहयात्राको सिकाईले जन्म दिएको नेटकम सोलुशनको व्यवसायिक यात्रा र  जिल्ला बिकास समितिको २ वर्षे करार जागिरमा म्याद थप्दाको पिडा, तत्कालिन जिल्ला बिकास समितिका लेखा अधिकृत मेरा अग्रज ओपेन्द्र बस्नेतको हौसला र मेरो छोरा प्रमेश चन्दसँगको बिछोडको समिश्रण २०६९ साल पौष २९ गते निजामती सेवा प्रवेश गर्ने मौका मिल्यो । नेटकम सोलशुनको व्यवसायिक यात्रा र जिल्ला हुलाक कार्यालय, सिंचाई बिकास डिभिजन र जिल्ला निर्वाचन कार्यालय सल्यानसम्म जागिरे यात्रा गर्दै गर्दा आज २०७८ माघ ८ गते ३८ वर्ष पुरा गरी ३९ वर्षमा प्रवेश गरेको छु ।

मलाई ९ महिनासम्म गर्भमा राखेर जन्म दिने, ४ महिनाको बच्चालाई रोल्पाको सालिमे जंगलमा घाँसको भारीसँगै बोक्दै हुर्काउने, जुन सुकै सानो मिठो खाने कुरा हुदा पनि मलाई सम्झने र सधै तिमिलाई चिसोले गाह्रो हुन्छ । सधै काम काम मात्र नभन्न आफ्नो शरिरको ख्याल गर्नु भन्दै सम्झाउने मुवा नभएका कारण आज ३९ औं बर्ष जन्मोत्सवमा खुशी मनाउन पाएको छैन । हिजो जव मसँग मुवा होइसिन्थ्यो त्यती खेर सधै म सँग दु:ख मात्र थियो । आज जव मैले शैक्षिक स्तरमा स्नातकोत्तर पुरा गरे,  सानो स्तरमा भए पनि नेपाल सरकारको सरकारी जागिरमा छु, आर्थिक रुपमा थोरै भए पनि आफ्नो परिवारलाई पाल्न पुग्ने गरी व्यवस्थापन गर्न सकेको छु । अव सालिमे जंगलमा स्याउलाले बारेको गोठमा बस्नु पर्ने
छैन । बिहान लसुनेको जंगलमा तुसारोसँग दाँते नङ्गे गर्नु पर्ने छैन, थोरधेर सबै कुरा छ तर आजको जन्म दिनमा मलाई आशिरबाद दिने मेरी मुवा होइसिन्न ।

मुवा हजुर आज मेरो जन्म दिनमा भौतिक रुपमा उपस्थित नभए पनि हजुरबाट कुनै न कुनै रुपमा मलाई आशिरवाद प्राप्त हुने छ । यदी साँचिकै अर्को जन्म हुन्छ भने यस जीवनमा हजुरको सेवा गर्न नपाए पनि अर्को जन्ममा पुन: हजुरकै छोरा भएर जन्म लिई सेवा गर्ने अवसर प्राप्त होस् । हजुरको मृत्युबरणको समयका बोलीलाई म सधै आत्मसाथ गर्नेछु । हजुरको अन्तिम इच्छा बुवाको बानी राम्रो छैन हेला नगर्नु, दाईलाई नहार्नु भन्ने भनाईलाई म सधै आत्मसाथ गर्ने छु । मेरो बाल्यकाल देखी आजका दिन सम्म सधै नैतिक शिक्षादिने बुवा-मुवा,  मलाई किताबी र व्यवहारिक शिक्षा दिनु हुने गुरु स्व. श्री फौद बहादुर खड्का, स्व. श्री खगेन्द्र प्रकाश वली, लोकानन्द शर्मा, स्व. श्री खगेन्द्र बि.एम., हिरालाल न्यौपाने, खुशीराम बर्मा, युवराज ज्ञवाली, स्व. बादल श्रेष्ठ तथा नाम छुट्नु भएका सम्पूर्ण गरुवर्गमा शीर झुकाएर उच्च सम्मान,  मेरा सम्पूर्ण इस्टमित्र आफन्त जन-अभिभावकहरु प्रति आदर प्रकट,  बाल्यकाल देखि ३८ औं वर्ष सम्मका सम्पूर्ण साथीभाईहरुलाई सम्झना ।

मैले सके सम्म कसैको नराम्रो चिताएको छैन र चिताउने पनि छैन् । तर मेरो पहिलो प्राथमिकता भनेकै आफ्नो काम हुने गर्दछ । त्यसैले आफुले गरेको काम राम्रो गरौं भन्दै गर्दा कहिले आफु भन्दा अगाडीका अग्रज, सहकर्मी र सहयोगीहरुमा कहि कतै तितो व्यवहार भएको भए म अन्तरमन देखि नै क्षमा चाहन्छु । मलाई मेरो जन्म दिनको उपलक्षमा अरु केही उपहार दिनु पर्दैन । बस कहि कतै हुजुरको मन दुखाएको भए क्षमा दिएर मलाई उपहार प्रदान गर्नुहुने छ भन्ने आशा लिएको छु । आजका दिन देखि सके राम्रो बन्ने प्रयास गर्ने छु । यदि सकिन भने पनि नराम्रो नबन्ने प्रण गर्छ ।

 धन्यवाद !

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *